काठमाडौं । कोभिड–१९ को उपचारपछि घर फर्किनेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सङ्क्रमित ५१ मध्ये १६ जना घर फर्किएको र ३५ उपचारका क्रममा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
यसअघि शुक्रबार धौलागिरी अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोप टक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो ।
दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उनमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो ।




