काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड—१९)को महामारीबाट नेपालमा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले सो भाइरस विरुद्ध लड्न नेपाल सरकारद्वारा विगत १ महिनादेखि मुलकभरि बन्दाबन्दी लागु गरे पश्चात दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकरुपमा हात मुख जोड्न समस्या उत्पन्न भएको छ ।
यसै विषम परिस्थितिलाई ध्यानमा राखी बैंकले बाँके जिल्ला स्थित राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १ सय घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बैंकले यस अघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि रु. ५० हजार सहयोग गरेको थियो ।
बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।




