सवारी दुर्घटनामा दुईको मृत्यु, १८ घाइते

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–३  कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते खत्रीको मृत्यु भएको हो ।सोही दुर्घटनामा परी रामेछाप मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएको र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर खाएको थियो ।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ । ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यस्तै, गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सात घाइते भएका छन् । मृत्यु हुनेमा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो । दुर्घटनामा आरुघाट गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ ।

घाइते सबैको दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेलाई केहीको थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस