असिनाले हिउँदेबाली नष्ट

डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्‍याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काले भने, “ साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो ।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्‍यायो भन्ने आँकलन नभएको जानकारी दिए ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

उनले भने, “असिनाले किसानलाई निकै समस्या पार्‍यो । ” गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि निरास भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस