काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समिति गठन भएको छ । नेविसंघ वि.सं. २०७५ माघ २९ गतेबाट विघटन नेविसंघ बिहीबार तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना रहेका छन् । त्यस्तै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनयन गरिएको छ । उनीहरु तीनै जना सभापति शेरबहादुर देउवा पक्षधर हुन् । पौडेल र सिटौला पक्षले नाम नदिँदा तदर्थ समितिले भने पूर्णता पाएका छैनन् ।
यसअघि सभापति देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा सहमतिमा नेविसंघको तदर्थ समिति गठन गर्ने भनिए पनि संस्थापन पक्ष एक्लैले तदर्थ समिति गठन गरेको हो । यसबारे पौडेल र सिटौला पक्षले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय र नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको कांग्रेसले जनाएको छ ।
तदर्थ समिति गठनपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन जिम्मेवारी दिइएको उल्लेख छ ।




