काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाइएको छ । त्यसमध्ये ५७१ जना चिनियाँ छन् ।
कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ ।
कोरोना भाइरस अन्य क्षेत्रमा फैलन नदिन चीन सरकारले वुहान सहरको सार्वजनिक यातायात बन्द गराइएको हो । स्वास प्रश्वासमा संक्रमण गराउने कोरोना भाइरस वुहानका अतिरिक्त चीनका अन्य सहरसम्म यतिबेला फैलिरहेको बताइएको छ ।
सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित बनाएको छ ।
पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरिएको छ ।




