कर्णालीमा हिमपातले जनजीवन कष्टकर, गाडी र हवाई साधन दुई दिनदेखि ठप्प

सुर्खेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक  भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् ।

जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ ।  जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिए ।

उनका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ ।

खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन् ।

जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताए । “धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ” उनले भने, सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताए ।

हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उनले दुखेसो व्यक्त गरे । चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन् । सरकारी काकाज नियमित हुन सकेको छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री