काठमाडौं । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेको छ ।
समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा कृषि बीमा गरी कृषकलाई सहयोग पु¥याउनुपर्नेछ ।
सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका कृषि बीमा गर्नुपर्नेछ । काठमाडौँ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ ।
समितिका अनुसार ७७ वटै जिल्लामा कार्यक्षेत्र तोकिएको र घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा गर्नुपर्नेछ । कृषकलाई बीमासम्बन्धी जनचेतना जगाउने र बीमाका लागि अभिप्रेरितसमेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको समितिले जनाएको छ ।



