काठमाडौं । राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो।
प्रदेश २ काे निर्विरोध आठै सिटमा मनोनयन भैसकेकाे कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो।
प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।
जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ। जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।
प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ ।
प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।



