काठमाण्डौ । वैदेशिक रोजगारीमा जान चाहनेले अब आफ्नो रोजाईको काममा आफैंले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले ‘एटेस्टेसन मोडूल’, र ‘कामदार छनोट मोडूल’को विकास गर्दै अनलाइनबाटै विदेशमा पाइने काम थाहा पाउन र आफूलाई इच्छा लागेको काममा आवेदन दिन मिल्ने बनाएको हो ।
बुधबारदेखि लागू भएको यो व्यवस्थाले विदेशको कामबारे बुझ्न म्यानपावर र एजेण्ट खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । कुन म्यानपावरले कुन देशबाट के कामको माग ल्याएको छ र सेवा, सुविधा कस्तो छ भन्नेदेखि लाग्ने लागतसम्मको जानकारी पनि अनलाइनबाट सजिलै पाउन सकिन्छ । वैदेशिक रोजगारीको प्रक्रिया सहजीकरणका लागि विभागले विभिन्न प्रविधिको विकास गरेको छ । एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली लागू गर्दै विभागले वैदेशिक रोजगार प्रक्रिया सहज बनाइरहेको छ ।
यस प्रविधिले श्रमिक भर्ना प्रक्रिया स्वच्छ हुने र बिचौलियाले ठगी गर्न नसक्ने विभागले जनाएको छ । यसअघि श्रमिक छनोट गर्दा कतिपय म्यानपावरले विज्ञापन र सूचना प्रकाशन औपचारिकताका लागि मात्रै गर्ने गरेको गुनासो थियो । तर अब विभागबाट अनुमति लिएपछि मात्रै विज्ञापन र सूचना प्रकाशित गर्नुपर्छ । विज्ञापन अनुसार म्यानपावरले काम गरे, नगरेको विभागसँग जानकारी हुन्छ ।
एजेण्टमार्फत म्यानपावरसम्म श्रमिक पुग्ने र झुटो कुरा सुनाएर श्रमिकलाई विदेश पठाउने दिनको अन्त्य हुने विभागको विश्वास छ । छनोट हुनुअघि नै श्रमिकको पासपोर्ट लिने, पैसा लिनेजस्ता प्रवृत्तिलाई यो मोडूलले निरुत्साहित गर्नेछ । किनभने अब अनलाइनबाट आवेदन दिँदा, पासपोर्ट नम्बर मात्र राखे पुग्छ ।




