न्याय नपाउने डरले अधिकांश महिलाले बयान फेर्छन्

घोराही । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो ।

जिल्ला अदालतले ०७६ असार ९ गते आठ वर्ष कैद गर्ने फैसला गर्‍यो । पाँच वर्षीया बालिकालाई ०७५ माघ १६ गते घोराही उपमनपा–२ का १८ वर्षीय मुकेश विकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते नै प्रहरीमा उजुरी दिए । फकाएर खोलामा लगेर बलात्कार गरेको खुल्न आयो । रक्तश्राव भएपछि पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण भयो ।

प्रहरीले आरोपितलाई माघ १६ गते नै गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले २०७६ वैशाख २७ गते दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट रु. ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो । यसैगरी एघार वर्षीया बालिकालाई २०७५ फागुन १३ गते घोराही उपमनपा–८ का ३१ वर्षीय सुनिल थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

१६ वर्षीया बालिकालाई २०७५ फागुन ७ गते घोराही उपमनपा–१८ का ३५ वर्षीय मदन विकले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । पाहुना बस्न गएका विकले रातको समयमा बालिकालाई बलात्कारको प्रयास गरेको पीडितले बताइन् । २५ वर्षीया महिलालाई २०७६ असार १ गते तुलसीपुर उपमनपा–६ का ३५ वर्षीय नवीन शर्माले बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते इप्रका तुलसीपुरमा उजुरी दिए ।

रातको समयमा महिलाकै कोठामा पुगेर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको थियो । १५ वर्षीया सुस्तःमनस्थितिकी बालिकालाई १० महिनादेखि लगातार राजपुर गाउँपालिका–३ का ६५ वर्षीय मानबहादुर चौधरीले बलात्कार गरी २०७६ असार ३१ गते बच्चा जन्मिएको भन्दै पीडित पक्षले इप्रका गढवामा साउन ८ गते उजुरी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप