माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताए ।

कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले पहिलो चरण यी ठाउँमा साइकल लेन सञ्चालन गर्न लागिएको र यसको प्रभावकारिता हेरी अन्य स्थानमा पनि तयार गर्ने बताए ।

कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकारले ६ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट्याउँदै राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तर्सम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण औँल्याए ।

जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदलयात्रीलाई लक्षित वर्ग बनाउनुपर्ने वातावरणविद् भुषण तुलाधरको धारणा थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप