राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज, चुनाव चिहृन भोलि

काठमाडौं । यही माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो ।

 

आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएपनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ । वाम गठबन्धनको तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो ।

निर्देशिकाअनुसार थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी गरेका थिए । छानबिनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय लिएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ । यो बीचमा इच्छुक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । अन्तिम नामावली प्रकाशनपछि सोमबार नै उम्मेदवारलाई चुनाव चिहृन वितरण गर्ने आयोगको कार्यतालिका छ ।

५९ सदस्यका लागि हुन लागेको चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ । यद्यपि, निर्विरोध भएकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस