काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले राजनीतिक दलहरु चुनावी प्रतिपर्धाका क्रममा रहे पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यका लागि प्रार्थना गर्नु सबैको कर्तव्य भएको स्मरण गराएका छन् ।
“चुनावी प्रतिस्पर्धा क्रममा छौं यतिबेला हामी । तर यही बेला सम्माननीय @PM_Nepal अप्रेसन पश्चात् अस्पतालमा हुनुहुन्छ । उनको स्वास्थ्यका लागि प्रार्थना गर्नु हामी सबैको कर्तव्य हो । सिंगो नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट हामी उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछौं,” प्रवक्ता शर्माले लेखेका छन् । प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको चिकित्सक स्रोतले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमी नेतृत्वको टोली खटिएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् ।



