काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको छ ।
जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहॊस