काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ३ सय ६५ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो ।
२०७६ मंसिर १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मका लागि गर्न लागिएको निक्षेप लगानीले बैंक तथा वित्तीय संस्थामा भएको तरलता अभावको समस्या आंशिक रुपमा समाधान गर्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले यसरी मुद्दति निक्षेपमा गर्न लागेको लगानीमा वाणिज्य बैंकहरुका लागि १ अर्ब ३१ करोड १६ लाख रुपैयाँ, विकास बैंकहरुका लागि २४ करोड ५९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीको लागि ८ करोड १९ लाख रुपैयाँ बराबरको सीमा तोकिएको छ ।
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई शिलबन्दी दरभाउपत्र फारम भरी कात्तिक २२ गते शुक्रबारभित्र राष्ट्र बैंकमा दाखिला गरिसक्नुपर्नेछ ।




