४६ खेलमा पहिलोपटक बार्सिलोनाले गोल गर्न सकेन

काठमाडाैं – आफ्नो घरेलु मैदानमा खेलिएका पछिल्ला ४६ खेलमा पहिलोपटक गोल गर्न नसक्दा बार्सिलोना स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको छ ।

यता, कप्तान लियोनेल मेस्सीले पनि सन् २०१२ यता घरेलु मैदानमा खेलिएको पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणको खेलमा गोल वा एसिस्ट गर्न सकेनन् । उनले गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो । बराबरी पछि पनि समूह एफमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ४ खेलपछि बार्साको ८ अंक रहेको छ ।

उता, अ स्रफ हाकामीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतले बोरुसिया डर्टमण्डले इन्टर मिलानलाई हराउँदै समूहको दोस्रो स्थानमा उक्लन सफल भएको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै डर्टमण्डले ३–२ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

एन्टोनियो कोन्टोको टोलीलाई लउटारो मार्टिनेज र माटियास भेसिनोले पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । तर, हाकामीले दुई गोल तथा जुलियन ब्रानडिटले एक गोल गरेपछि इन्टर मिलान पराजित हुन पुग्यो । जीतसँगै सात अंकसहित डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ । मिलानको ४ अंक रहेको छ । –एजेन्सी 

तपाईंको प्रतिकृया

लेखकबाट थप