पोखरा । नाउर तथा झारलको सिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन सिकार आरक्षमा पहिलो चरणको ‘सिकार याम’ शुरु भएसँगै विदेशी सिकारी त्यसतर्फ लागेका छन् । नेपालको एक मात्र यस आरक्षमा शिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति प्राप्त पेसेवर सिकारी त्यहाँ पुगेका हुन् ।
विभागले हरेक वर्ष दुई सिजनमा सिकार गराउने गरी सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट बोलपत्र आह्वान गरी अनुमति प्रदान गर्दै आएको छ । यो वर्षको पहिलो सिजनका लागि सात नाउर र पाँच झारलको सिकारका लागि सिकारी आरक्ष क्षेत्र पुगेको आरक्षण कार्यालयले जनाएको छ ।
यस सिजनका लागि विभागले दस नाउर र छ झारलको कोटा निर्धारण गरे पनि सिकारको माग कम भएपछि सात नाउर र पाँच झारलको सिकार अनुमति प्रदान गरिएको थियो । विभागले कम्पनीबीच गराएको विद्युतीय बोलपत्रमा एक नाउरको मूल्य एक लाख ९० हजार र झारलको मूल्य त्योभन्दा कम तोकिएको जनाएको छ ।
गत सिजन (फागुन–वैशाख) मा नाउर सिकारको राजस्व १३ लाख ५१ हजार र झारल सिकारको राजस्व १३ लाख ५० हजार तथा (असोज–मङ्सिर) सिजनमा नाउर सिकारको राजस्व १२ लाख पाँच हजार र झारलको राजस्व नौ लाख २० हजार थियो । यस पटक सिकार कम्पनीबीच प्रतिस्पर्धा कम भएकाले राजस्व सङ्कलनमा कम भएको आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले जानकारी दिए ।



