एजेन्सी । गोन्कालो पासिन्सियाको दुई गोलप्रेरित आइन्ट्राच्ट फ्रान्कफर्टले जर्मन बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा बायर लेभरकुसनलाई ३-० ले पराजित गरेको छ।
फ्रान्कफर्टको घरेलु मैदान कोमेर्जव्यान्क एरिनामा भएको खेलको चौथो मिनेटमा पासिन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
ड्यानी डा कोस्टाको पासलाई उनले गोलमा परिणत गरेसँगै लिएको अग्रता पासिन्सियाकै दोस्रो गोलमार्फत फ्रान्कफर्टले दोब्बर पारेको थियो।
भ्रमणकारी टोली लेभरकुसनमाथि निरन्तर आक्रमण गरेको फ्रान्कफर्टले १६औं मिनेटमा पेनाल्टी पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै पासिन्सियाले फ्रान्कफर्टको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० ले अगाडि रहेको घरेलु टोलीले निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी हुँदा तेस्रो गोल थप्दै सहज नतिजा आफ्नो पक्षमा पार्यो।
८०औं मिनेटमा फिलिप कोस्टिकको पासलाई बास दोस्तले गोलमा परिणत गरेसँगै ३-० को फराकिलो नतिजामा फ्रान्कफर्टले सिजनको चौथो जित दर्ता गर्यो।
जितसँगै ८ खेलबाट १४ अंक जोडेको फ्रान्कफर्ट अंक तालिकाको सातौं स्थानमा छ।
पराजित लेभरकुसन समान खेलबाट समान १४ अंकका साथ आठौं स्थानमा छ। लिग लिडर बोरुसिया मोच्नेनग्लाडबाचको ७ खेलबाट १६ अंक छ भने साबिक विजेता बायर्न म्युनिख १४ अंककासाथ तेस्रो स्थानमा छ।
प्रतिकृया दिनुहॊस