गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा

भैरहवा । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अगामी डिसेम्बरभित्र उडान थाल्ने गरी निर्माण कार्य भइरहेको छ । प्राविधिक उपकरण जडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ । धावन मार्गसँगै ठूला पूर्वाधार तयार भएका छन् ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले मौसमलगायत कारणले साथ दिएमा आगामी डिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउने गरी निर्माण भैरहेको बताए । अहिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनको काम भइरहेको छ । धावनमार्ग वरपर पेरिमिटर सडक, ससाना ढल निकास, भित्री तारबार, वायरिङ र विद्युत् जडानसम्बन्धी काम चलिरहेका छन् ।

पहिलो ठेक्काअन्तर्गत सिभिलतर्फको करिब आठ प्रतिशत काम बाँकी रहेको अधिकारीले जनाकारी दिए । दोस्रो ठेक्काअन्तर्गत विमानस्थलमा उपकरण र मेसिन जडानको काम मुख्य हो । यसको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले ५० करोड रुपैयाँमा लिएको छ । एरो थाई सरकारी कम्पनी हो ।

जनवरी ७ सम्ममा उपकरण तथा मेसिन जडान गर्ने सम्झौता म्याद छ । दोस्रो ठेक्काअन्तर्गत भिओआररडिएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, विमान कति उचाइमा छ, कति दूरीमा छ भन्नेबारेमा पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, एक्सरे, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्नेलगायत उपकरण जडान हुने छन् ।

यसका लागि युरोप र अमेरिकामा अर्डरबमोजिम तयार पारिएका उपकरण आउने क्रममा रहेको अधिकारीले बताए । उपकरण जडानका लागि करिब डेढ महिना लाग्ने अनुमान गरिएको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री