नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक सोमबार : आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

काठमाडौँ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए ।

उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए । चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री