केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती

बलेवा । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पुनःनिर्माणका लागि पनि स्थानीय बासिन्दाले खर्च जुटाए र बन्द भएको तेस्रो साता खुलाए ।

निसीखोलाको यो आयोजनाले भोगेको समस्या नयाँ भने होइन । यहाँका १६ वटा आयोजनाले वर्षेनी यस्तो समस्याको सामना गर्दैआएका छन् । वर्षात्को समयमा बाढीले बाँध बगाउने, खम्बाहरु ढाल्ने र तार चुँडाल्ने समस्याले सताउने गरेको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष जुनविक्रम शाहीले बताए । वर्षेनी आयोजनाहरुमा समस्या आउँदा उपभोक्ताहरु भने आत्तिने गरेका छन् । एकातर्फ लामो समय बत्ती बाल्न नपाउने र अर्कोतर्फ मर्मत खर्च समेत उपभोक्ताले नै ब्यहोर्नुपर्ने भएकाले उनीहरुमा निराशा छाएको हो । “ठूला आयोजनामा जस्तो बाँध बाँधेर बनेका हाम्रा आयोजना हैनन्,” शाहीले भने – “सानोतिनो बाढी आयो भने सबैतिर असर गर्छ ।”

निसीखोलामा जस्तै तमानखोलामा पनि ११ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजनाले पनि वर्षेनी समस्याको सामना गर्नैपर्छ । तमानखोलाको बोंगादोभानमा रहेको १०० किलोवाट क्षमताको तल्लो तमानखोला लघुजलविद्युत् आयोजना स्थानीय सरकारको निर्वाचनपछि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको दुई वर्षमा यो आयोजनाले पनि कैयौं समस्या झेल्न परिरहेको छ । “बेला बेलामा मर्मत गर्नुपर्ने गरी समस्या आउँछन्,” गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने – “मर्मत गरेर चलाए पूर्ण क्षमतामा चल्ने आयोजना हो ।” केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेकाले दुबै गाउँपालिकाको विद्युत्को मुख्य स्रोत भनेकै लघुजलविद्युत् आयोजना हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस