काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले रक्तदान, वृद्धवृद्धालाई सहयोग एवम् खेल आयोजना गरेर आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीलाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ८३ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।
यसै अवसरमा निसहाय सेवा सदन, बानेश्वरमा बृद्धबृद्धालाई भोजन खुवाइएको थियो भने रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा वृक्षारोपण पनि गरिएको थियो । त्यस्तै, बैंक कर्मचारीहरु बीच म्युजिकल चेयर खेल प्रतियोगिता समेत संचालन गरिएको थियो । जोरपाटीस्थित बुद्धिष्ट बालगृहलाई रु १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिनुका साथै २०७५ सालको माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ५ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
वार्षिकोत्सवको अवसर पारेर कर्मचारी संघमा आवद्ध निवृत ४८ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक पनि प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकालले कर्मचारीहरुको भावनालाई सङकुचित नहुने गरी कानून बनाइने र सरकारले ट्रेड यूनियनको माथि कुनै किसिमको प्रतिबन्ध नलगाउने बताए ।
कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदीले संस्थाको सम्बद्र्धन र पेसागत हकहित नै कर्मचारी संघको मूख्य उद्देश्य रहेको बताए ।
पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले श्रमिकको जीवनमा सामाजिक सुरक्षा योजना सरकारको राम्रो कार्य भएको बताए ।
कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिबकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे र नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




