पेट्रोलियम पाइप लाइन : अगस्तबाट तेल ल्याउने तयारी

काठमाडौँ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल ल्याउने तयारी छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसनर अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको छ । अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको उनले बताए ।

भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्यधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ ।

नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल ल्याउने तयारी गरिएको आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले बताए ।

अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम चलिरहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर छ । ३२ दशमलव २० किलोमिटर पाइप लाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपालमा पर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री