काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्दैछ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । दिउँसो दुई बजे वोर्ड बैठक बसेपछि नतिजा प्रकाशन हुनेछ ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।
यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।




