तीन सय विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्यो, खरिद र सञ्चालन बारे थप छलफल हुने

काठमाडाैँ । सरकारले ३ सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरिद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक खरिद ऐनअनुसार नै खरिद गर्ने वा आफैं सोझै कुनै देशसँग वार्ता गरेर खरिद गर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।
बस खरिद गर्ने प्रक्रियासँगै बस सञ्चालनको तरिकाका बारेमा छलफल भइरहेको छ । विद्युतीय बस खरिदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । अपुग भए थप बजेट निकासा गर्न सकिने बताइएको छ ।

मन्त्रिपरिषद्को गत पुसमा बसेको बैठकले तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले खरिद गर्ने भने पनि कसरी र कुन निकायमार्फत खरिद र सञ्चालन गर्ने निर्णय नगरेकाले अहिले यी विषय निर्णयका क्रममा रहेको बताइएको छ । नेपाल सरकारसँगै विद्युतीय बस खरिद र सञ्चालनमा प्रदेश सरकारले समेत चासो देखाएका छन् । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय बस खरिद गर्नका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्थासँगको सहकार्यमा बस सञ्चालनका लागि छलफल अघि बढाएको बताइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै विद्युतीय बसलाई प्रोत्साहन गरिने बताए । काठमाडौं उपत्यका र सातै वटा प्रदेशको प्रमुख सहर र आसपासका स्थानमा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याइने बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट विभिन्न स्थानमा चार्जिङ स्टेसनको स्थापना गर्ने पनि आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ । सन् २०२० सम्म देशभर गुड्ने सवारीसाधनमध्ये २० प्रतिशत विद्युतीय सवारीसाधन पु¥याउने सरकारको लक्ष्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप