काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारलाई नागरिकका लागि वर्षमा कति किताब पढ्न पाउने भन्नेबारे कोटा तोकिदिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शुन्य समयमा बोल्दै उनले नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए । सरकारले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने भन्दै गरेको सो निर्णयको उनले आलोचना गरेका हुन् । उनले भने, ‘यसले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम छैन ।’
नेपाली प्रकाशकले अन्य मुलुकमा छापेर ल्याउने किताबमा यसअघि नै लगाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव नल्याएको उनको तर्क थियो । ‘घरेलु मुद्रण व्यवसायको हित सरकारले चाहेको हो भने अनेकन उपाय थिए,’ उनले भने, ‘किताबलाई महँगो बनाउँदै किताबलाई नियन्त्रण गर्नु प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु हो ।’
उनले भने, ‘विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताब लिएर आउने गरेकाले सरकारको चाहना पुरा नहुन सक्छ ।’
उनले सरकारलाई सुझाव दिँदै भने, ‘विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक लिएर आउन पाउने ? कोटा तोक्दिनुस् ।’ त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा पार्न पनि उनले सुझाव दिए । ‘किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नुस्,’ उनले भने, ‘त्यसले पनि किताब नपढी नेपालीले नछाड्ने भए भने सरकार ! एक नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो ? त्यसकै कोटा तोक्दिनुस् ।’




