हेटौंडा । प्रदेश ३ को नाम ‘नेपाल मण्डल प्रदेश’ राख्न प्रदेश सांसदहरुले प्रस्ताव दर्ता गरेका छन्। सांसदहरुले प्रदेशसभा सभामुख सानु श्रेष्ठमार्फत सचिवालयमा सो प्रस्ताव दर्ता गरेको प्रस्तावक सांसद डा. अजयक्रान्ति शाक्यले जानकारी दिए। प्रस्तावको प्रस्तावकहरुमा डा। शाक्य र वसन्त मानन्धर रहेका छन्।
समर्थकमा सांसद्हरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मिला, सरस्वती वाटी रहेका छन्। प्रस्तावमा प्रदेश ३ को नाम नेपाल मण्डल रहनुपर्ने ऐतिहासिक तथा भौगोलिक, जनसंख्या, पहिचानको कारण समेत उल्लेख गरिएको छ। प्रस्तावमा ‘यस प्रदेशका १३ वटा जिल्लामध्ये चितवनबाहेक सबै जिल्लाहरु नेपालमण्डल प्रदेशभित्रै नै पर्दछ । र, चितवन पनि मल्ल राजा यक्ष मल्लको पालामा नेपाल मण्डलअन्तर्गत नै रहेको पाइन्छ’ उल्लेख गरिएको छ।
यस्तै, लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा तिस्तुङ (मकवानपुर)सम्म रहेको दाबी गरिएको छ। तसर्थ, प्रदेश ३ ऐतिहासिकता र भूगोलको हिसावले नेपाल मण्डल नामकरण गर्न माग गरिएको छ।




