बजेटमा शेयर बजार : लगानीकर्ताले मागेको भन्दा बढी पाए, करको अधिकांश माग पूरा

काठमाडौं। शेयर बजारको विषयलाई लिएर चर्को विरोध खेप्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताले माग्दै नमागेको माग पनि पाएका छन्। शेयर बजार विरोधीको रुपमा चिनिएका खतिवडाले सुधारका लागि धेरै प्रयास गरेका थिए।

उनी अर्थमन्त्री भएसँगै शेयर बजार लगातार गिरावटमा आएको थियो। बजार घट्दै गर्दा उनको राजीनामासम्म माग्न भ्याएका लगानीकर्ताले नमागेका माग समेत खतिवडाले संबोधन गरिदएका हुन्। कुनै पनि लगानीकर्ताले यस पटक पूँजीगत लाभकर घट्ने माग राखेका थिएनन्। उनीहरुले लाभकर बढाउँदा केहि फरक नपर्ने तर यसलाई अन्तिम करको रुपमा गणना गर्न माग गरेका थिए।

खतिवडाले गतवर्ष पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएका थिए। प्यानको विषयलाई लिएर आन्दोलन गर्नेहरुका लागि पनि उनले बजेटबाट थप प्रस्ट्याइदिएका छन्।

उनले निश्चित रकमसम्मको कारोबार गर्नेलाई मात्रै स्थायी लेखा नम्बर ‘प्यान’ लागु हुने व्यवस्था गरिदिएका छन्। थोरै रकमको कारोबार गर्ने साना लगानीकर्ताहरु प्यानको दायरामा अनिवार्य जानुपर्ने छैन। यो विषयलाई लिएर समेत लगानीकर्ताले चर्को विरोध गरेका थिए। विरोधपछि नेपाल धितोपत्र बोर्डले पाँच करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्ने लगानीकर्ताहरुको लागि मात्रै प्यान अनिवार्य हुने व्यवस्था गरिदिएको थियो। बजेटमा भएको व्यवस्था अनुसार बोर्डको उक्त निर्देशनलाई नै संवोधन गरेको हो।

नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले शेयर बजार सुधारका लागि सबै भन्दा राम्रो बजेट आएको बताए। उनले भने ‘हामीले लामो समयदेखि राख्दै आएको माग सहि भएको प्रमाणित भएको छ। हाम्रा अधिकांश माग संबोधन भएको छ।’

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बजेट शेयर बजार मैत्री भएको बताए। भ्याट, बोनस शेयर र हकप्रद शेयरको आधार मूल्यमा कर लगाउने विवादको विषय टुङ्गिएको उनले बताए। पूँजीगत लाभकरको विषयमा अन्तिम कर हो या होइन भन्ने विषय बाहेक सबै पक्ष राम्रो रहेको उनले बताए।

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुव तिमिल्सिनाले बजेट लगानीकर्ताको विश्वास जित्ने खालको आएको बताए। उनले भने ‘पछिल्लो समय शेयरबजारमा आपूर्ति धेरै हुँदा बजार घटेको थियो। यो व्यवस्थापनका लागि गैर आवासीय नेपालीलाई बजारमा भित्र्याउनुपर्ने लगानीकर्ताको माग संबोधन भएको छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री