काठमाडाैँ । नेपालको प्राविधिक टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नापेर काठमाडौं फर्किएको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्कीले सगरमाथाको शिखरमा पुगी उचाइ नापेर फर्किएका हुन्।
टोलीका संयोजक समेत रहेका गौतमले १ घण्टा १६ मिनेट शिखरमा बसेर उचाइ मापन गरेको बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। ‘एक घण्टा १६ मिनेट चुचुरोमा बसेर अब्जरभेसन गयौं,’ उनले भने, ‘यति समय विताउन साह्रै गाह्रो भयो।’
उनले कष्टपूर्ण रुपमा चुचुरोमा पुगेर पहिलो पटक सगरमाथाको उचाइ मापन गर्न सफल भएको बताए। ‘नेपालले आफ्नै पहलमा पहिलो पटक आफैँले सगरमाथाको उचाइ नाप्न सफल भएको छ ,’ उनले भने, ‘हामीलाई यो काम गर्न जिम्मा नेपाल सरकारले दियो, त्यो काम गर्न सक्यौं, यसले संसारलाई सन्देश दिएको छ।’
सगरमाथाको आरोहणको एक युवकको आफ्नै अगाडि मृत्यु भएको सुनाउँदै भने, ‘आफूसँगै भात खाएको एउटा युवकको मृत्यु भयो, बेलैमा रेस्क्यू नगरेको भए हामी पनि के बाच्थ्यौं कि बाच्दैनथियौं, त्यो थाहा छैन।’
उनले नेपाल सरकारले जिम्मा दिएको चुनौती पूर्ण काम गर्न सफल भएको बताए। गौतमले सन २०११ मा सगरमाथाको आरोहरण गरिसकेका थिए।
शिखरमा पुगेर उचाइ नापी फर्किएको टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा स्वागत गरेकी छन् । उनले ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाइ बाहिर आउने बताइन्।
सगरमाथाको उचाइ नाप्न उपसचिव गौतमको संयोजकत्वको चार सदस्यीय प्राविधिक टोली चैत २७ ले काठमाडौंबाट प्रस्थान गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर पुगेको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था अर्यालले सगरमाथाको आधार शिविर मै पुगेर हौसला प्रदान गरेकी थिइन्।
टोलीमा चुचुरोमा पुगेर गौतम, कार्की उचाइ नाप्न सफल भए भने आधारशिवरमा सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सम्पर्क सुत्रको काम गरे। टोलीलाई लिएर गएका प्रमुख गाइड छिरिङ जाङवु शेर्पाले ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको बताए। अक्सिजन सकिएका कारणसमस्या परेको उनले बताए।
‘रवीन सर (टोलीका सदस्य) को फर्किदा अक्सिजन सकिएछ, साह्रै तनाव भएको थियो, धन्न एक जना चिनेको साथी बाटोमा भेटेर सहयोग गर्नुभयो’, उनले भने, ‘त्यहाँ मृत्यु हुने धेरै अक्सिजनको कारण हुनसक्छ, मलाई डर लागेको थियो, तर केही हुन पाएन।’
मन्त्रालय सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ नेपालको तर्फबाट नापेर फर्किको टोलीले शुभकामना दिए। संयोजक गौतमको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।




