काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको जानकारीअनुसार उचाइ मापनकै क्रममा बुधबार मात्र सगरमाथाको चुचुरोमा जीपीएसमार्फत १ घण्टा १५ मिनेट निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।
मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सर्वेक्षण क्रममा भूउपग्रहबाट प्राप्त संकेत लिएर चार जनाको टोली फर्कने क्रममा छ । बुधबार सगरमाथाको चुचुरोमा पुगेको टोली ‘साउथ पोल’ सम्म आइपुगेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गतको नापी विभागले गरिरहेको मापनमा प्रमुख मालपोत अधिकृत खिमलाल गौतमले नेतृत्व गरेको टोलीमा रबिन कार्की, सुरजसिंह भण्डारी र युवराज धितालसहित चार जना रहेका छन् ।
यस क्रममा गौतम र कार्की सगरमाथाको चुचुरोमा पुगेका थिए भने भण्डारी र धितालले सगरमाथा आधार शिविरमा रहेर समन्वय गरेका थिए । टोली फर्केलगत्तै प्राप्त जानकारीलाई लेखाजोखा गर्नेछ । यसअघि सन् १९५४ मा भारतीय सर्भे विभागले गरेको मापनलाई नै हालसम्मको आधिकारिक उचाइ मानिँदै आएको थियो । सो समयमा सर्भे विभागले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर रहेको घोषणा गरेको थियो ।
तत्पश्चात् सन् १९९९ मा अमेरिकाले जीपीएस विधि अपनाएर गरेको मापनबाट २ मिटर बढेर सगरमाथाको उचाइ ८ हजार ८५० मिटर रहेको दाबी गरेको थियो । त्यस्तै, चीनले समेत सन् २००५ मा गरेको मापनबाट यसको उचाइ ८ हजार ८४४ मिटर रहेको दाबी गरेको थियो । त्यस्तै, २०७२ सालमा आएको शक्तिशाली भू–कम्पबाट समेत २ मिटर उचाइ घटेको चर्चा चलेको थियो ।



