काठमाडाैँ । नेपाल टेलिकमले आज (सोमबार) देखि प्रिपेड मोबाइलमा प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।
अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत गएको बेला आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन्।नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सकिने छ।
त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिने प्रवक्ता वैद्यले जानकारी दिइन्।
चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ।
त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ लाग्ने बैद्यले बताइन्। भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ नै लाग्ने छ।
नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ लाग्ने छ।
भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३९७ लाग्ने छ। एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ र भारतबाट प्रति एसएमएस २४ रुपैयाँ लाग्ने छ।
तर, एसएमएस प्राप्त गर्न भने कुनै शुल्क लाग्ने छैन। कम्पनीको वार्षिकोत्सवको अवसरमा गएको २२ माघमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए।




