काठमाडौँ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्युटारवरको निर्माण पाँच बर्ष ढिला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले यसको निर्माणका लागि पाँच वर्ष म्याद थपेपछि निर्माणमा ढिलाई हुने भएको हो । सम्झौता भएको झण्डै दुई वर्ष निर्माण कार्य सुरु भएको थिएन तर हाल निर्माण कार्यले गति लिएको छ । २०७१ फागुन २२ गते टेन्डर पाएको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीले आर्थिक वर्ष २०७४÷७५ बाट काम सुरु गरेको हो ।
सम्झौतामा काठमाडौँ महानगरपालिकासँग ३० वर्षका लागि भाडामा जग्गा लिएर निर्माण गर्न लागिएको थियो तर भुकम्प र नाकाबन्दीका कारण निर्माण कार्य हुन नसकेको भन्दै दुई वर्ष थपगरी ३२ वर्षसम्म कम्पनीहरुले टावर भाडामा सञ्चलन गर्न पाउने बनाइएको थियो । हाल फेरी महानगरपालिकाले पाँच वर्ष समय थपिदिएको कम्पनीहरुलाई ३७ वर्षसम्म सञ्चालन गर्न दिने भएको छ ।
निर्माण अवधि पनि पाँच वर्ष थपिएको छ । झन्डै २३ रोपनी क्षेत्रफलमा सात अर्ब ६४ करोड रुपैयाँको लागतमा बन्न लागेको ३२ तले भ्युटावर निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीका सञ्चलक मनोज भेटवालले जानकारी दिए ।




