त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत सुरु, यसरी हुँदैछ काम

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत सुरु गरिएको छ । बारम्बार कालोपत्रे उप्किएर समस्या आएपछि धावनमार्ग पूर्णरूपमा मर्मत अर्थात् ‘रनवे रिह्याब’ गर्न लागिएको हो ।

२०३६ सालमा निर्माण गरिएपछि धावनमार्गको यसरी मर्मत गर्न लागिएको यो पहिलोपटक भएको बताइएको छ । मर्मतका लागि तीन महिनासम्म दैनिक १० घन्टा विमानस्थलमा रात्रि उडान बन्द हुनेछ ।

१ अप्रिल २०१९ देखि जुन ३० सम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम हुनेछ । विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्ममात्र खुला रहनेछ । यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म दैनिक २१ घन्टा विमानस्थल सन्चालनमा आउने गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमा नै पहिलोपटक यसरी धावनमार्ग मर्मत गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीन किलोमिटर लामो धावनमार्ग मर्मतका लागि ठकेदार कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्वसम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको जनाइएको छ ।

पहिलो चरणमा धावनमार्गको कालोपत्रे परिवर्तन गरिनेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेसिनका साथमा धावनमार्ग बनाइनेछ । धावनमार्गको काम सम्पन्न भएपछि ट्याक्सी पार्किङलगायतका काम अघि बढाउने पनि नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्ग मर्मतका लागि चिनियाँ कम्पनीसँग तीन अर्ब ७५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुआतमा हरेक दिन दैनिक ८० मिटर धावनमार्ग जोतेर त्यसलाई १० घन्टामा पुनः उडानका लागि तयार गरिनेछ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले राति उडान धेरै नभएको र भएकाको पनि तालिका मिलाउन लगाइसकिएकाले उडानमा कुनै प्रभाव नपर्ने बताए । गुणस्तरीय सामग्री र पछिल्लो उच्चतम प्रविधिका कारण निर्माणपछि आगामी १५ वर्षसम्म धावनमार्गमा कुनै समस्या नआउने क्षत्रीको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस