काठमाडौं। ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आउँदा दुई घण्टा ५४ मिनेट रोकिएर पुनः सुरु भएको कारोबारमा नेप्से सूचक १.८० अंकले बढेर बन्द भएको छ। नेप्से सूचक ०.१६ प्रतिशतले बढेर ११४२.५२ विन्दुमा रोकिएको छ। नेप्से झिनो अंकले सुधारिए पनि कारोबार रकम भने ४८ करोड रुपैयाँ नाघेको छ।
सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको शेयर मूल्य ७ रुपैयाँले घटे पनि कारोबार रकम भने ५ करोड ५४ लाख रुपैयाँ नाघेको छ। किसान माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन्। संस्थाको अधिकतम बढ्ने क्रममा सर्किट लागेको हो। त्यस्तै युनिभर्सल पावरको भने सबैभन्दा धेरै घट्ने क्रममा सर्किट लागेको छ।
डाटा सेन्टरमा समस्या आउदा दिउसो एक बजेर ४२ मिनेट पछि कारोबार रोकिएको थियो। डाटा सेन्टरमा समस्या आए पछि नेप्सेले समस्या समाधान हुने वित्तीकै कारोबार सुचारु गर्न र्देशन दिए सँगै डाटा सेन्टर सेवा प्रदायक कम्पनी ‘डाटा हव’ले दुई घण्टा ५४ मिनेट पछि समस्या समाधान गरेको थियो।
डाटा सेन्टर निर्माण र सञ्चालनका लागि ब्रोकरहरुले ‘डाटा हव’लाई जिम्मा दिएका थिए। आज डाटा सेन्टरमा समस्या देखिए पनि अनलाइन प्रणालीमा भने कुनै समस्या नदेखिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।
ब्रोकरहरुले आफ्नो टिएसएस प्रणालीबाट टिपाएको अर्डर डाटा सेन्टर हुँदै अनलाइन प्रणालीमा पुग्छ। ब्रोकरहरुले आफ्नो प्रणालीबाट अर्डर दिए पनि डाटा सेन्टरबाट अनलाइन प्रणालीमा पुग्न नसक्दा कारोबार रोकिएको थियो।
नेप्सेको प्रणालीमा समस्या आउदा यस अघि कारोबार समय थप नगरे पनि यस पटक भने कारोबार हुन नसकेको एक घण्टा १८ मिनेट समय थप गरिएको हो।



