कोरियन कम्पनीले नेपालमै गाडी बनाउने

काठमाडौं। अब कोरियन कम्पनीले नेपालमै चारपांग्रे सवारीसाधन बनाउने भएको छ । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेपछि कोरियन कम्पनीलाई अब नेपालमै चारपांग्रे सवारीसाधन बनाउने बाटो खुलेको हो । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोटरेक्स कम्पनी लिमिटेडले नेपालमा ल्याउन लागेको १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको हो । कोरियन कम्पनीले १० अर्ब ५४ करोड लगानी गरेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव लगानी बोर्डसमक्ष पेस गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बोर्ड बैठकले करियन कम्पनी मोटरेक्स कम्पनी लिमिटेडको लगानी प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले शुक्रबारको बैठकले सो लगानीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि नेपालमा गोल्छा समूहले मात्र चारपांग्रे सवारीको एसेम्बलिङ सुरु गरेको थियो । गोल्छा समूहले मुस्ताङ ब्रान्डको चारपांग्रे जिप उत्पादन गरी बजारमा ल्याएको थियो । स्वदेशी उत्पादन सो मुस्ताङ गाडीको प्रवद्र्धनका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइले समेत केही समय मुस्ताङ गाडी चढेर मुलुकको भीआईपी सफारिमा समेत ठूलो परिवर्तन ल्याउन खोजेका थिए । अहिले पूर्वप्रधानमन्त्री भट्टराईको स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने त्यो अभियान त्यसै हराएको अवस्था छ । हाल पूर्वप्रधानमन्त्री भट्टराईले प्रयोग गरेको मुस्ताङ गाडीको उत्पादन बन्द भइसकेको छ । मुस्ताङ ब्रान्डको सो गाडी लामो समय उच्च हिमाली जिल्लाका कच्ची बाटोमा राम्रैसित चलेको थियो । नेपालमा हाल दुईपांग्रे सवारी गोल्छा समूहकै अगुवाइमा बजाजका केही बाइक एसेम्बलिङ हुने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस