काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा पुँजीगत खर्च ३३.५८ प्रतिशत मात्र भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा ८९ अर्ब मात्रै पुँजीगत खर्च भएको हो। यो विनियोजित रकमको ३३.५८ प्रतिशत हो।
सरकारको लक्ष्यअनुसार दोस्रो चौमाससम्म ६० प्रतिशत पुँजीगत खर्च भइसक्नुपर्ने हो। आर्थिक वर्षको अन्तिम चौमास मात्रै बाँकी छ। जस अनुसार असार मसान्तसम्म बाँकी ६६.४२ प्रतिशत रक खर्च गरिसक्नुपर्नेछ।
पछिल्लो समय बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्रीले पुँजीगत खर्चतर्फ विनियोजित तीन खर्ब १३ अर्ब रुपैयाँमध्ये ८४.५ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब रुपैयाँ मात्र खर्च हुने तथ्यांक प्रस्तुत गरे।
समीक्षामा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले समीक्षा अवधिभर तीन पटकसम्म पुँजीगत खर्च बढाउने विषयमा सम्बन्धित मन्त्रालयसँग बैठक बसेको बताएका थिए। आठ महिनाको अवधिमा पुँजीगत खर्च व्यवस्थापनका लागि राष्ट्रिय तथा उच्च प्राथमिकता प्राप्त आयोजनाजस्तै मध्यपहाडी, हुलाकी राजमार्ग, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा सडक पुल आयोजनाका लागि ८ अर्ब रुपैयाँ रकम निकासा गरिएको मन्त्रालयले जानकारी दिएको छ।
सात वर्षको बजेट स्थितिअनुसार पुँजीगत खर्चको ७० प्रतिशत वा सोभन्दा बढी खर्च अन्तिम चौमासमा हुने प्रवृत्ति छ। संशोधन हुनुपूर्वको अनुमानलाई आधार लिने हो भने यो प्रवृत्तिकै निरन्तरता देखिन्छ। यथार्थ पुँजीगत बजेटअनुसार यस अवधिमा खर्च २७ प्रतिशत मात्रै छ। आजको अन्नपूर्णमा खबर छ



