काठमाडाैँ । मार्जिन कारोबारका लागि सात ब्रोकर कम्पनीहरुले आवेदन दिएका छन्। देशभर ५० वटा ब्रोकर कम्पनीहरु संचालनमा रहेकोमा सात कम्पनीले मात्रै स्टक एक्स्चेन्जमा मार्जिन कारोबारका लागि आवेदन दिएका हुन्।
एक्स्चेन्जका अनुसार मार्जिन कारोबारका लागि आवेदन दिने कम्पनीहरुमा नेपाल स्टक हाउस, भिजन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर सेक्युरिटिज, क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटिज र नासा सेक्युरिटिज रहेका छन्।
मार्जिन कारोवार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। कतिपयको खुद सम्पत्ति ५ करोड नपुग्ने भएकाले पनि आवेदन नदिएका हुन्। ब्रोकर कम्पनीहरुले भने आफूहरु मार्जिन कारोबारका लागि इच्छुक रहेको दावी गर्दै आएका छन्। यद्यपी केही प्रक्रियागत झन्झटहरु रहेको ब्रोकर कम्पनीहरुको भनाई छ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले आफूहरु मार्जिन कारोबारका लागि पूर्ण रुपमा इच्छुक रहेको दावी गरे। नेप्सेले एक महिनाको अवधि राखेकाले प्रशस्त आवेदन पर्ने उनले दावी गरे। ‘कतिपय कम्पनी मार्जिन कारोबारकै लागि नेटवर्थ बढाउनतिर लाग्नुभएको छ’ उनले भने। हाल करिब ५० प्रतिशत ब्रोकर कम्पनीको नेटवर्थ ५ करोडभन्दा मुनि रहेको उनले बताए।
ब्रोकर कम्पनीहरुले आफ्नै पैसाबाट वा बैंकबाट ऋण लिएर यो सुविधा दिन सक्नेछन्। नेप्सेबाट स्वीकृति पाइसकेपछि आफूहरुले बैंकहरुसँग सहमति गर्ने र सेवा सुचारु गर्ने अध्यक्ष रानाभाटले बताए। मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ।




