काठमाडौं । नबिल बैंकले ३४% लाभांश प्रस्ताव राखेर फागुन २७ गते साधारण सभा बोलाएको छ । बैंकले २२% नगद र १२% बोनस सेयर गरी कुल ३४% लाभांश वितरण गर्न लागेको हो । सभा प्रयोजनका लागि नबिलले फागुन १४ गते बुक क्लोज गरिसकेको छ । फागुन १३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
नबिलले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्नेछ । साथै, बैकको आर्थिक वर्ष २०७४÷७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु रहनेछन् ।
साधारण सभा फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । प्रस्तावित १२% बोनस सयेर वितरणपछि चुक्ता पुँजी ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा रहेको छ ।
तपाईंको प्रतिकृया




