काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ । नेपाली सेना र कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनीबीच २० माघभित्र डीपीआर बनाउनेगरी १६ असोजमा सम्झौता भएको थियो । सुसुङले सम्झौताअनुसार नै आइतबार राति सेनालाई डीपीआरको मस्यौदा बुझाएको हो ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालले डीपीआर निर्माणको जिम्मा पाएको कोरियाली कम्पनी सुसुङले सम्झौताअनुसार तोकिएको समयभित्रै डीपीआरको प्रारम्भिक मस्यौदा तयार गरेर बुझाएको बताए । उनका अनुसार प्रतिवेदनमा केही सुधार गर्नुपर्ने अवस्था देखिए डीपीआर निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई नै सेनाले सुझाव दिनेछ ।सम्झौतामा डीपीआरको लागत १० करोड १२ लाख ७८ हजार ९३२ रुपैयाँ तोकिएको थियो । सुसुङ इन्जिनियरिङले ४ कात्तिकबाट डीपीआर बनाउन सुरु गरेको थियो । सुसुङ छानिनुअघि डीपीआरका लागि १७ विदेशी कम्पनीले आवेदन दिएका थिए ।
त्यसअघि भारतीय कम्पनी आईएल एन्ड एफएसले डीपीआर तयार पारेको थियो । तर, अत्यधिक मूल्य भएको भन्दै नेपाली सेनाले डीपीआरको प्रतिवेदन किनेको थिएन । मूल्यका विषयमा सहमति नभएपछि सेनाले कोरियाली कम्पनी छानेको थियो ।
प्रतिकृया दिनुहॊस