काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ प्रधानन्यायाधिससहितको इजलासले आइतबार पनि निरन्तरता दिएको छ। नयाँ प्रधानन्यायाधिसका रुपमा चोलेन्द्र शम्शेर राणा आएपछि गत बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। यसअघि गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो।
सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको थियो। राणासहित न्यायाधिसहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत्त पूर्ण इजलासले सुनुवाइ सुरु गरेका छन्।
असोज १८ देखि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। त्यसबेला न्यायाधीश शारदाप्रसाद घिमिरेले मुद्दाको लीड गरेका थिए। घिमिरेसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान पूर्ण इजसासका सदस्य थिए।
मुद्दा पूर्ण सुनुवाइका लागि पेस भए पनि एनसेलले मागदाबी गरे अनुसारको आदेश भने यसअघि भइसकेको छ। अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा उपयोग गरिसकेको छ। अन्तरिम आदेशमै पनि लाभकरको दायित्व निवेदक कम्पनीको नभएको उल्लेख गरिएको छ। तर, विवादको निरुपणका लागि भन्दै मुद्दा भने पूर्ण इजलासमा पठाइएको छ।
यसअघि पुस ९ गते लाभांश लैजान अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले लाभांश रोक्दा कम्पनीलाई अपूरणीय क्षति भएको भन्दै अन्तरिम आदेश जारी गरेका थिए।
उक्त आदेशको आलोचना समेत भएको थियो। सर्वोच्चले भदौ २८ गते खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गर्ने निर्णय गरेको थियो। कागजात प्राप्त भएपछि असोज १८ बाट अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो।
प्रतिकृया दिनुहॊस