नेपाल टेलिकमले एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक–अर्कामा निःशुल्क रूपमा असीमित भ्वाइस कल गर्न सक्ने सुविधा ल्याएको छ । टेलिकमले जिएसएम पोस्टपेड मोबाइलका कर्पोरेट ग्राहकलाई लक्षित गरी मंगलबारदेखि ३ महिनाका लागि नयाँ कर्पोरेट युजर ग्रुप (सियुजी) प्याकेज सार्वजनिक गरेको छ । कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न डाटाको व्यवस्था गरिएको छ । जसअनुसार ४ सय रुपैयाँमा सबैभन्दा सस्तो प्याकेज उपलब्ध हुनेछ । प्याकेजअन्तर्गत गु्रपका सबै नम्बरबाट सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १ सय ५० मिनेट भ्वाइस कल गर्न तथा ३ सय एमबी डाटा चलाउन पाइनेछ । ७ सय रुपैयाँमा ३ सय मिनेट भ्वाइस कल र ८ सय एमबी डाटा, १ हजार रुपैयाँमा ४ सय ५० मिनेट भ्वाइस कल र १५ सय एमबी डाटा सुविधा रहेको छ । १३ सय रुपैयाँमा ६ सय मिनेट भ्वाइस कल, २१ सय एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७ सय ५० मिनेट भ्वाइस कल र २७ सय एमबी डाटाको प्याकेजसमेत रहेको छ । ग्रुप सदस्यबीचमा भने असीमित भ्वाइस कल गर्न सकिने सुविधा सबै प्याकेजका ग्राहकले पाउनेछन् । सुविधा आगामी कात्तिक २७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको सियुजीमा निःशुल्क कल सुविधा
तपाईंको प्रतिकृया




