राजधानीमै घर हुने सांसद्को घरभाडा कटौती गर्ने तयारी

बुटवल । प्रदेश ५ राजधानीमै घर भएका सांसद्हरुले बुझ्दै आएको घरबहाल भाडाको व्यवस्था संसोधन गरिने भएको छ ।  देशसञ्चारमा प्रदेश ५ को राजधानी बुटवलमै घर भएका सांसद्हरुले घरबहाल भाडा बुझ्दै आएको समाचार प्रकाशित भएपछि सत्तारुढ दल नेकपाले यो सुविधा संसोधन गर्नका लागि पहलकदमी थालेको छ ।

केही दिनअघि बसेको नेकपाको संसदीय दलको बैठकले दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा गठन गरेको समितिले घरभाडासम्बन्धी व्यवस्थाबारे पनि अध्ययन गर्ने नेकपा सांसद् तथा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘पहिले कानुन बन्दा राजधानी र राजधानीबाहिरको भनेर बनेन, उनले भने–हामीहरु अलि मितव्ययी बन्नुपर्ने कुरा आइसकेपछि यसबारे अध्ययन गरेर संसोधन प्रस्ताव लग्छौं ।’

उनले प्रदेशको अस्थायी राजधानी बुटवल या रुपन्देहीबासी सांसद्का लागि के व्यवस्था गर्ने भन्नेबारेमा छलफल थालिएको जानकारी दिए । ‘संघीय संसद्मा भइआएको व्यवस्थालाई पनि आधार मानेर प्रदेश राजधानीबासी सांसद्का लागि उपयुक्त हुने खालको व्यवस्था होस् भन्ने आशयको संसोधन आउने छ,–उनले भने–मैले यो विषयमा अगाडि पनि कुरा उठाएको थिएँ, आलोचित हुने काम नगरौं भन्दा कानुन त्यस्तै खालको बन्यो, अब संसोधन हुन्छ ।’

प्रदेश ५ मा एकजना मन्त्रीसहित १८ जना सांसद् प्रदेश ५ राजधानी रुपन्देहीबासी हुन् । उनीहरुमध्ये १४ जनाले आफ्नै घरमा बसेर मासिक १५ हजार रुपैयाँ घरभाडावापत्को रकम बुझ्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री