एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ । सनवे कलेजको आयोजनामा सम्पन्न कार्यक्रममा नीति निर्माण, शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका विशिष्ट व्यक्तित्व, विद्यार्थी, प्राध्यापक, उद्यमी, स्टार्टअप प्रतिनिधि तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

फेस्टको मुख्य उद्देश्य विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग तथा प्रविधि क्षेत्रका विज्ञलाई एउटै मञ्चमा जोड्दै ज्ञान आदान–प्रदान, सीप विकास, सहकार्य तथा नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै एआई तथा उदीयमान प्रविधिबारे व्यावहारिक अनुभव प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान र समाधान खोज्ने सोचबाट सुरु हुने उल्लेख गर्दै शिक्षा नयाँ प्रविधिको प्रयोगमा मात्र सीमित नभई प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्ने धारणा राखे । विशेष अतिथि तथा पूर्वमन्त्री गणेश साहले नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्नु समयको आवश्यकता रहेको बताउँदै युवालाई अवसर सिर्जना गर्ने सोचका साथ अघि बढ्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा क्यान महासंघका संस्थापक अध्यक्ष डा. बिमलकुमार शर्माले आ-आफ्नो धारणा राख्दै एआई, अनुसन्धान, नवप्रवर्तन र सीप विकासमार्फत नेपाललाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता, प्रदर्शनी तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शन सञ्चालन गरिएको थियो । सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए । रोबोटिक्स तथा ड्रोन वर्कसप, भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता, ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ र ‘एआई टक सिरिज’ लगायतका विशेष सत्रहरूमा एआईको पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति, डाटा गोपनीयता तथा दैनिक जीवनमा प्रयोगका अवसर र चुनौतीबारे विज्ञहरूले अनुभव आदान–प्रदान गरेका थिए ।

फेस्टअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्सपो र मक इन्टरभ्यु सत्र सञ्चालन गरिएको थियो । सहभागी विद्यार्थीहरूले विभिन्न कम्पनीका मानव स्रोत विज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता दिँदै रोजगारीका अवसर, करिअर योजना तथा व्यावसायिक तयारीबारे उपयोगी अनुभव प्राप्त गरेका थिए । त्यसैगरी, १५ भन्दा बढी कम्युनिटी पार्टनरहरूले नवप्रवर्तन, प्रविधि, स्टार्टअप तथा विद्यार्थी समुदायलाई जोड्ने विभिन्न गतिविधिमा सहकार्य गरेका थिए । फेस्टमा समर्पित गेमिङ जोन समेत सञ्चालन गरिएको थियो, जसले सहभागीलाई प्रविधिसँगै मनोरञ्जनात्मक अनुभव प्रदान गरेको थियो ।

‘नेपाल इन द इरा अफ फिजिकल एआई’ विषयक विशेष प्यानल छलफलमा पूर्व राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झा, काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका एसोसिएट डिन डा. बालकृष्ण बल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सञ्जय पौडेल, बडी एन्ड डाटाकी प्रमुख कार्यकारी अधिकृत डा. दोभान राई तथा कोलोराडो विश्वविद्यालयका अनुसन्धान फेलो डा. निरज पुडासैनीले नेपालमा एआईको विकास, नीति, अनुसन्धान, साइबर सुरक्षा, डाटा गोपनीयता तथा उद्योग–शिक्षा सहकार्यका विषयमा धारणा राखेका थिए ।

फेस्टमा यान्ट्रा एक्सले नेपालमा रोबोटिक्स तथा फिजिकल एआईको सम्भावना र अन्तर्राष्ट्रिय अवसरबारे विशेष प्रस्तुति दिएको थियो । साथै एआई, रोबोटिक्स तथा नवप्रवर्तनसँग सम्बन्धित विभिन्न प्रविधि प्रदर्शनी, अन्तरक्रियात्मक डेमो, फुड स्टल, फोटो बुथ तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिएका थिए ।

प्रतियोगिताका उत्कृष्ट टोलीहरूलाई विभिन्न संस्थाले विशेष पुरस्कार तथा प्रोत्साहन प्याकेज प्रदान गरेका थिए । एनसेलले उत्कृष्ट तीन विजेता समूहलाई डेटा र भ्वाइसको अनलिमिटेड प्याकेज उपलब्ध गराएको थियो । खल्तीले ११ टोलीलाई प्रति समूह रु. ५,००० बराबरको विशेष प्याकेज प्रदान गरेको थियो भने यति क्याउड डट एआईले ११ टोलीलाई ६ महिनाका लागि नि:शुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको थियो ।
त्यसैगरी ONE BNPL ले Public Choice Award विजेता टोलीलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरेको थियो । साथै किताब यात्रासहित अन्य साझेदार संस्थाहरूले पनि विजेता टोलीहरूका लागि विशेष उपहार तथा प्रोत्साहन प्याकेजको व्यवस्था गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री