एजेन्सी । फ्रान्सका कप्तान किलियन एमबाप्पे मोरक्कोविरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा (एंकल)चोट लागे पनि स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलका लागि फिट रहने अपेक्षा गरिएको छ। सेमिफाइनलअघि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्प्सले स्टार फरवार्ड एमबाप्पे खेल्न उपलब्ध रहने बताएका छन्। ‘किलियन ठीक छन्,’ डेसाम्प्सले रोयटर्सलाई उद्धृत गर्दै भने।
मोरक्कोविरुद्ध फ्रान्सले २–० को जित निकालेको क्वार्टरफाइनल खेलमा चोट लागेपछि एमबाप्पेले अन्तिम प्रशिक्षण सत्र पूरा गरेका थिएनन्। उक्त खेलमा अन्तिम समयमा उनलाई प्रतिस्थापन गरिएको थियो र सावधानीका रूपमा उनको प्रशिक्षणको भार पनि कम गरिएको थियो।
एमबाप्पेको प्रशिक्षण सहभागिताबारे सोधिएको प्रश्नमा डेसाम्प्सले भने, ‘हो, उनले प्रशिक्षण गरे। १५ मिनेटको सट्टा एउटा अभ्यासमा उनलाई १० मिनेट मात्र सहभागी हुन दिइएको छ,’ रोयटर्सले जनाएको छ।
प्रशिक्षणका क्रममा उनलाई आंशिक रूपमा आराम दिइए पनि उक्त चोटका कारण स्पेनविरुद्धको बहुप्रतीक्षित सेमिफाइनल खेल गुमाउनुपर्ने अवस्था नरहेको बताइएको छ।
फ्रान्सले सेमिफाइनलमा उत्कृष्ट लयमा रहेको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
लगातार ३६ खेलसम्म अपराजित रहेको स्पेन विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। यस सेमिफाइनलको विजेताले जुलाई १९ मा हुने उपाधि भिडन्तमा स्थान बनाउनेछ।
अन्तिम चार टोलीमध्ये नकआउट चरणमा सबैभन्दा प्रभावशाली र सन्तुलित प्रदर्शन फ्रान्सले गरेको छ। समूह ‘आई’ को विजेता बनेपछि फ्रान्सले राउन्ड अफ ३२ मा स्विडेनलाई ३–० ले सहज रूपमा हराएको थियो।
त्यसपछि राउन्ड अफ १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
नकआउट चरणमा फ्रान्सले ६ गोल गरेको छ भने अहिलेसम्म कुनै पनि गोल व्यहोरेको छैन, जसले दबाबका बेला पनि टोलीको बलियो र अनुशासित रक्षापंक्तिलाई देखाउँछ।
कडा प्रतिस्पर्धात्मक खेलहरूमा पनि फ्रान्सले आफ्नो खेल संरचना मजबुत राखेको छ भने कप्तान किलियन एमबाप्पेले निर्णायक क्षणमा आक्रमणतर्फ टोलीलाई धार प्रदान गर्दै आएका छन्। (एएनआई)



