काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए। उनले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गरे।
‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,’ उनले भने। ्उनले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको युवा आन्दोलन स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि अहिले नै प्रश्न गर्न रोक लगाउने प्रयास भइरहेको आरोप लगाए।
‘जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ,’ राईले भने। सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए। नगरप्रहरीसँगको विवादपछि नेपालीले काठमाडौंको सडकमा आत्मदाह गरेको घटनापछि सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो। उनले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए।



