काठमाडाै । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। बैंकका अनुसार असार २९ गते सम्पन्न सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीलाई तलबी बचत खाता सञ्चालनको सुविधा उपलब्ध गराउनुका साथै पेशाकर्मी सरल कर्जा सेवा प्रदान गर्नेछ। कर्मचारीले बैंकबाट सहुलियत दरमा अन्य विभिन्न बैंकिङ सेवा तथा सुविधासमेत प्राप्त गर्नेछन्। बैंकले यस्ता सहकार्यमार्फत सरकारी तथा संस्थागत कर्मचारीलाई सहज, सुलभ र आधुनिक बैंकिङ सेवा विस्तार गर्दै लैजाने जनाएको छ।
वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ। बैंकका ३१६ शाखा कार्यालयमार्फत निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ तथा अन्य आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।



