मिस एण्ड मिसेस ब्युटिफुल’ को ११औं र १०औं संस्करणको पहिलो अडिशन सम्पन्न

काठमाडाै । मिस एण्ड मिसेस ब्युटिफुल’ को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा थिए ।

आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिए। उनका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ-मेकअप तथा फेशनसम्बन्धी कक्षा समावेश हुनेछन् ।

ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघरमा आयोजना गरिने जनाइएको छ । अडिशनमा सहभागी हुन छुटेका इच्छुकले अझै दक्ष इन्टरनेशनलको बानेश्वरस्थित कार्यालयमा सम्पर्क गरी आवेदन दिनसक्ने पाण्डेले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी तथा कलाकार मुना निरौला, मिलापका सम्पादक कृष्ण भुसाल र पेजेन्ट निर्देशक शान्ता के.तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा फोटोग्राफी साझेदारमा बद्री थापा, मेकअप पार्टनरमा क्युट केयर एण्ड क्युट हब तथा ड्रेस पार्टनरमा दीना गुरुङ थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप