डब्लुडब्लुजेकाे एआइ तालिम : अझ व्यापक बनाइनुपर्ने सुझाव

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा पत्रकार महिलाहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ। पत्रकार महिलाहरूलाई व्यावसायिक रूपमा काम गर्न सहज बनाउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएकाे छ ।

कार्यक्रममा डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले एआई प्रविधिलाई सही ढंगले सदुपयोग गरी मिडियामा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने धारणा राखिन् । उनले वर्तमान समय एआईको युग भएको उल्लेख गर्दै पत्रकारहरूले एआईको प्रयोगबाट व्यावसायिक लाभ लिन सक्नुपर्ने भनाइ राखिन्। कार्यक्रममा डब्लुडब्लुजेकी संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार संगीता लामाले एआईको उचित प्रयोगले कामलाई सहज बनाउने बताइन्। उनले एआईको अत्यधिक प्रयोगका कारण मानिसहरू आफ्नै क्षमता विकासभन्दा प्रविधिमाथि निर्भर बन्दै गएको र पत्रकार थप सजग हुनुपर्ने विचार व्यक्त गरिन्।

सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा सम्पन्न तालिममा पत्रकार जीवन भण्डारीले एआई सम्बन्धी ज्ञान, सीप तथा यसको व्यावहारिक प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रामकला खड्काले गरेकी थिइन् भने सञ्चालन महासचिव रमिता लामाले गरेकी थिइन् । तालिममा सहभागी पत्रकार महिलाहरूले एआई प्रविधि वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमलाई थप विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

कार्यक्रममा डब्लुडब्लुजेकी उपाध्यक्ष चन्दा विष्ट, सचिव रुक्मणी पोखरेल, कोषाध्यक्ष दीपा आले, सदस्य सोनी शर्मा र सीता बिके तथा पूर्व महासचिव लक्ष्मी बस्नेत लगायतको उपस्थिति रहेको थियो। उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध ३७ जना पत्रकार महिलाहरूको सहभागिता रहेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री