म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमण : आतिथ्यता, संस्कृति र समावेशिताको सम्मान

काठमाडौं । म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, जेडब्लु म्यारियट काठमाडौं भ्यालीका लागि होटल व्यवस्थापन सम्झौता हस्ताक्षर कार्यक्रमको एक दिनअघि, ७ जुन २०२६ मा नेपालआइपुगेका थिए। नेपाल आगमनका क्रममा उनलाई नेपाली परम्परागत आतिथ्यता सहित न्यानो स्वागत गरिएको थियो, जसले अतिथिप्रतिको नेपाली सम्मान र सद्भावनाको संस्कृतिलाई झल्काएको थियो।

यस अवसरलाई अझ विशेष बनाउँदै डाउन सिन्ड्रोम सोसाईटीका बालबालिकासँगको आत्मीय भेटघाट तथा काठमाडौं म्यारियटमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानको समेत सम्मान गरिएको थियो। यो केवल औपचारिक स्वागत कार्यक्रम मात्र नभई समावेशिता, सम्मान र सामाजिक उत्तरदायित्वप्रति नेपालको प्रतिबद्धताको प्रतीकात्मक प्रस्तुति पनि थियो।

डेभिड म्यारियटले म्यारियट इन्टरनेशनलमा २५ वर्षभन्दा लामो समय बिताइसकेका छन् । यस अवधिमा उनले होटल सञ्चालन, बिक्री व्यवस्थापन तथा विभिन्न क्षेत्रीय स्तरका नेतृ त्वदायी भूमिकामा रहेर योगदान दिएका छन्। हाल बोर्ड अध्यक्षका रूपमा उहाँले १४६ देश तथा क्षेत्रमा फैलिएका ३० भन्दा बढी प्रतिष्ठित ब्रान्ड अन्तर्गत सञ्चालित ९,९०० भन्दा बढी होटल तथा सम्पत्तिहरूको विश्वव्यापी नेटवर्कको नेतृत्व गरिरहेका छन् । म्यारियटको ९८ वर्षे इतिहासमा उनी तेस्रो बोर्ड अध्यक्ष हुन्। उनले आफ्नो पिता र हजुरबुबाले निर्माण गरेको म्यारियटको समृद्ध विरासतलाई निरन्तरता दिइरहेका छन्।

यस भ्रमणमा म्यारियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टिमका सदस्यहरू पनि सहभागी थिए। टिममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निरज गोविल, प्रमुख लजिङ प्रोडक्ट एण्ड सर्भिसेज अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री